
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको प्रतिपक्ष बन्न आफू एक्लै काफी भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले मतदाताहरुलाई धन्यवाद दिदै रास्वपाको सरकारलाई खबरदारी गर्न आफू एक्लो पर्याप्त भएको बताएका हुन्।
सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनले आफ्नो पार्टीले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने मतदातालाई विश्वास दिलाए ।
उनले प्रश्न गर्दै भनेका छन्, ‘अब प्रतिपक्ष नै नहुनेजस्तो देखियो भन्ने चर्चा चलेको सुनेँ, उनीहरुलाई खबरदारी गर्न म एक्लै काफी छु, अरु कोही चाहिन्छ र ?’
साम्पाङले मिल्नै परे राष्ट्रिय प्रजातन्त्र पार्टीका एक मात्र निर्वाचित उम्मेदवार ज्ञानबहादुर शाहीसँग मिलेर आवाज उठाउन सकिने पनि बताएका छन् । ‘माननीय ज्ञानबहादुर शाहीज्यू सँग चाहिँ कुरा मिल्छजस्तो लाग्छ, मेरो प्रारम्भिक अनुमान मात्रै है,’ उनले अर्को स्टाटसमा भनेका छन्।