काठमाडौं, फागुन २७ :

दुई सिटले गर्दा रास्वपाको दुई तिहाइ बहुमत नपुग्ने स्थिति देखिएको छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट पाउने भएपछि उसको कुल १८२ सिट पुग्ने निश्चित भएको छ ।   २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।

‘सेन्ट लग  फर्मुला’मा राखेर सिट बाँडफाँट गर्दा उसको प्रत्यक्ष र समानुपातिक दुवैबाट कूल १८२ सिट पुग्ने देखिएको हो ।रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो ।

दोस्रो पार्टीको रुपमा रहेको नेपाली कांग्रेसको प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट हुने देखिएको छ ।  यसअघि कांग्रेसको ८९ सिट थियो ।

तस्रो पार्टीको रुपमा रहेको एमालेको प्रत्यक्ष र समानुपातिकबाट गरी २५ सिट हुनेछ  । यस्तै नेपाली कम्युनिस्ट पार्टीको प्रत्यक्ष र समानुपातिकबाट गरी १७ सिट हुनेछ ।

श्रम संस्कृतिले ३ सिट प्रत्यक्षमा जितेकाले अब उसको  कुल ७ सिट हुनेछ । राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले कुल ५ सिट हुनेछ । ६ वटा पार्टी राष्ट्रिय पार्टी हुने भएको छ । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै छन् । निर्वाचन आयोगले केही दिनमा नै मतको आधारमा सिट बाँडफाँड गर्ने भएको छ ।

दुई तिहाइ किन आवश्यक ?

संविधानको धारा २७४ मा संविधान संशोधनसम्बन्धी व्यवस्था छ । उपधारा १ मा ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन’ भन्ने व्यवस्था छ । 

जसअनुसार संघीय संसद्मा दुई तिहाइ भए पनि यी विषयमा संशोधन हुँदैन । संविधानका अन्य प्रावधान भने संघीय संसद्मा कायम सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट संशोधन गर्न मिल्छ ।