
नेपाल पत्रकार महासंघले ७१ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । स्थापना दिवसका अवसरमा महासंघले काठमाडौंको सिनामंगल पिपलबोटदेखि सञ्चारग्रामसम्म प्रभातफेरीको आयोजना गरेको थियो ।
प्रभातफेरीपछि सञ्चारग्राममा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघलाई प्रभावकारी रुपमा अघि बढाउने बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम भएमा महासंघ सशक्त रूपमा उभिने धारणा राखिन्। अहिले करिब दुई तिहाई नजिकको सरकार बनेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न उनले आग्रह समेत गरिन् ।
उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम भए कुनै हालतमा चुप लागेर नबस्ने स्पष्ट पारिन् । वि.सं. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।