
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको छ ।
कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू‐ राजनीतिक अवस्था लगायतका कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राख्नुभयो ।
लामो समयदेखिका द्वन्द्व, भू- राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारणहरू विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेको मन्त्री डा राणाको भनाई छ ।
अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्को यस्तै समस्या बनेको छ र एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि धेरै समस्या रहेको उहाँले बताउनुभयो।
अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नु परिरहेको र एसियाली क्षेत्रमा समेत बढ्दो रूपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठुलो चिन्ताको विषय भएको उहाँको भनाई थियो ।
मन्त्री डा राणाले एसियाली देशहरू भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताका साथ काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।
साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदमहरू चाल्नुपर्नेमा पनि उहाँको जोड थियो।
धेरै समस्याहरू हुँदाहुँदै पनि शान्तिपूर्ण र समृद्ध एसियाका लागि ‘एसिडी भिजन २०३०’ को मान्यता अनुसार अघि बढ्न एसियाली देशहरूसँग अवसर पनि रहेकाले यसका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
नेपाल सदैव बहुपक्षीयता र क्षेत्रीय सहयोगको पक्षमा रही आएको र सन् २०१६ मा एसिडीमा आबद्ध भएदेखि नै यसका उद्देश्यहरू पूरा गर्ने पक्षमा उभिँदै आएको पनि उहाँले बताउनुभयो । भोलिका दिनमा पनि ‘एसिडी भिजन २०३०’ पूरा गर्न नेपाल सदैव एसिडीसँगै रहने उहाँले बताउनुभयो ।
साथै मन्त्री डा राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै एकता र सद्भाव कायम गर्न सहयोग पुगेको धारणा पनि राख्नुभयो ।
मन्त्री डा राणाले खेलकुद कूटनीतिलाई अगाडि बढाउन महिला र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउनुपर्ने, खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने तथा खेलाडीहरूलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्ने सुझाव दिनुभयो ।