काठमाण्डौँ , असोज १९ :

अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब बराबरको क्षति भएको छ । 

क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज संसद्को पूर्वाधार समितिको आजको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै अस्थायी रुपमा भएपछि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेको जानकारी दिनुभयो ।  

गत हप्ताको भीषण वर्षा र बाढीका कारण ३४ राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा सात सय ७४ स्थानको पहिरो हटाइएको छ । 

कूल २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको छ । हालसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालनका गर्न अनवरत प्रयास जारी छ । 

कतिपय स्थानमा पहिरो घटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । 

अरनिको राजमार्गको लार्चा- कोदारी खण्डको पाँच किलोमिटर क्षेत्रमा समस्या रहेको छ । लिपिङ पुल र लार्चाको बेजिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ । त्यसका लागि लार्चामा ह्यूम पाइप र पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गरिनेछ । 

बिपी राजमार्गको चौकीडाँडा- कालढुङ्गा खण्डको १८ किलोमिटर क्षेत्रमध्ये १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारणबीच बीचमा सवारी साधन रोकिएका छन् । 

दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको, रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भभ एसममका सबै विकल्पहरू प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालनको प्रयास गरिएको छ । 

पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत दोलालघाट राकाथुम ८० किलोमिटर खण्डको धेरै स्थानमा पहिरो गई सडक समेत बास आउट भएको, दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक सफा गरी बर्दिबासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौँ प्रवेश गराइनेछ । 

कान्ति राजपथको घपेली बगुवा खण्डको १३ किलोमिटर र बागमती पुलको दाँया बाँया एप्रोचमा समस्या भएको छ । मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । बाग्मती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारी साधन नियमित गराइने छ । 

मेची राजमार्ग अन्तर्गत रमिते फिदिमको आठ किलोमिटर खण्डको रमितेडाँडाको पहिरो हटाउने काम भइरहेको  छ । हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिनेछ । 

यस्तै, अरनिको राजमार्गको लिपिङमा १७ मिटर लामो बेलिब्रिज जडान गरिनेछ । यस्तै अरनिको राजमार्गको लार्चामा ४५ मिटर, बिपी राजमार्गको सुनकोशी खैरेनीटारमा ५० मिटर लामो बेलिब्रिज जडान गर्नुपर्नेछ । 

यस्तै, बिपी राजमार्ग रामेछाप जोड्ने सडकको सुनकोशी खुर्कोट खण्डमा ५० मिटर लामो बेलिब्रिज जडानका लागि आवश्यक पहल सुरु गरिएको जानकारी दिनुभयो । 

सगरमाथा राजमार्गको सुनकोशी फोक्सिङटारमा एक सय १० मिटर लमबाइको पुल बगाएको छ । त्यसका लागि मन्त्रालयले आवश्यक पहल थालेको छ । मेची राजमगएको हेवा खोलाको ५० मिटर लामो पुल बगाएको छ । 

त्यसका लागि डाइभर्सन निर्माण गर्नुपर्नेछ । यस्ते, कान्ति लोकपथको १५ मिटर लामो बागमती पुल बगाएको छ । अप्रोच सडक निर्माण गरी सो पुल सञ्चालनमा ल्याउने तयारी छ । माईपोखरी सन्दकपुर इलामका रातेखोलाको ३५ मिटर लामो पुल बगाएको छ । 

पुल निर्माणका लागि आवश्यक पहल भइरहेको छ । क्षतिग्रस्त सडक पूर्वाधारको मर्मत सम्भारका लागि सङघीय सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रभावकारी पहल गरेको स्पष्ट पारेको छ ।