छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मङ्सिर १२ गतेदेखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न ५० देशका करिब ८ सय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
त्रिवि केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागका प्रमुख प्रा डा. योगेन्द्रबहादुर गुरुङले चार दिनसम्म चल्ने काठमाडौँ सम्मेलनमा एसियाली मुलुकका जनसङ्ख्याविद्को तर्फबाट १७ विषयमा आधारित ४ सय भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो ।
विश्वको जनसाङ्ख्यिक परिदृष्य र प्रवृत्ति, यसको राजनीतिक, सामाजिक तथा आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसङ्ख्यालाई प्राप्त हुने अवसर र चुनौती लगायतका विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुत हुने उहाँले बताउनुभयो ।
अहिले सम्म ४०० प्रतिनिधिसहित २६ देशका ३०० भन्दा बढी कार्यपत्र दर्ता भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
आसन्न सम्मेलनमा जनसङ्ख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने विश्वास गरिएको छ ।
नेपालको विकासका एजेण्डालाई थप प्रवर्द्धन गर्ने तथा प्रमाणमा आधारित विकासमा जोड दिनुपर्ने आवश्यकतालाई बढावा दिने अपेक्षा गरिएको प्रा डा. गुरुङले बताउनुभयो ।
समग्र विश्व सहित एसियाली क्षेत्रको जनसङ्ख्या व्यवस्थापनका पक्षमा नीति- नियम परिवर्तन गर्न तथा नेपालको जनसङ्ख्या नीतिलाई पुनरावलोकन गर्न आसन्न सम्मेलनले मार्गनिर्देश गर्ने पनि उहाँले जानकारी गराउनुभयो।
नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा पदमप्रसाद खतिवडाले जनसङ्ख्याको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबीच अध्ययन, अनुसन्धान र उत्कृष्ट अभ्यास अन्वेषण गरी साझा अवधारणा तयार गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।