कञ्चनपुर , असोज २० :

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती मृतावस्थामा फेला परेको छ।

प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।

निकुञ्जको पशु चिकित्सकको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उहाँले बताउनुभयो । 

बस्तीभन्दा झन्डै तीन- चार किलोमिटरभित्र शुक्रबार हात्ती मृतावस्थामा फेला परेपछि करेन्ट लागेर वा विषादीका कारण मरेको भन्नेबारे पशु चिकित्सकको टोलीले चेकजाँच गर्दा त्यस्तो केही पनि फेला नपारेको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिनुभयो । 

निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको गस्ती टोलीले हात्ती मृतावस्थामा फेला पारेको उहाँले बताउनुभयो ।

हात्तीको मलद्वारबाट गोबर र आन्द्रा निस्केको अवस्थामा रहेको पाइएको जानकारी दिँदै निकुञ्जका सूचना अधिकारी ऐरले पशु चिकित्सकले चेकजाँच गर्दा पेटभित्र ग्यास भरिएर त्यसो भएको जनाएको बताउनुभयो । हात्ती गर्भवती भने नरहेको उहाँको भनाइ छ । 

हिन्दू परम्पराअनुसार सरोकार भएकाहरूको रोहबरमा हात्तीको सद्गत गरिएको उहाँले जानकारी दिनुभयो ।