काठमाण्डौं, असोज २० :

त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा आजदेखी निर्माण सामग्री बोकेका ठुला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको  छ ।

सवारी जामको समस्या कम गर्नका लागी निर्माण सामग्री बोकेका ठुला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

दसैँ सुरु भई सकेकोले पर्व मनाउनका लागी राजधानीबाट बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको छ । जसले गर्दा यात्रुहरूले यात्राका क्रममा सवारी जामका कारण सास्ती खेप्नु नपरोस् भनेर टेलर लगायतका सवारी साधनलाई राजधानी प्रवेशमा रोक लगाईएको हो ।

छिटपुट राजधानी प्रवेशका लागी आएका सवारीलाई पनि प्रहरीले सुरक्षित स्थानमा बिचैमा रोकेर पर्व भरी नै राखिने बताईएको छ ।  

यस वर्ष गत वर्षको तुलनामा पृथ्वी राजमार्ग हुँदै राजधानी बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरूको चाप दोब्बरले वृद्धि भएको छ ।

बिपी राजमार्ग गत साताको बाढी र पहिरोका कारण अवरुद्ध भएपछि पूर्वी नेपालको अधिकांश जिल्लाहरू र मधेस प्रदेश क्षेत्रमा जाने सवारीका साधनहरुले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नै प्रयोग गरेका छन् ।

विशेष गरी चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय  यातायात व्यवस्था विभागले गरेसंगै स्थानीय प्रशासनले सोको कार्यान्वयन गरेको हो ।

घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो । यात्रुवाहक गाडीलाई प्राथमिकता दिने गरी ठुला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

औषधि र तरकारी लगायत दूध  बोकेका बाहेक अन्य ठुला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने छ ।