
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी एकता र मजबुतका लागि सहमतिमूलक र सम्मानजनक ढङ्गबाट अघि बढ्नुपर्ने बताएका छन्।
आज पुर्वकार्यवाहक सभापति पुर्णबहादुर खड्का निवासमा भएको देउवा निकट नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले व्यक्ति होइन संस्था बलियो हुनुपर्ने बताएका छन् ।
पार्टीभित्रको आधिकारिकताको विषयमा असन्तुष्टि कायमै रहेको समेत उनले उल्लेख गरेका छन् । उनले कानुनी रूपमा निर्णय भए पनि राजनीतिक रूपमा समस्या अझै कायम रहेको डा महतको भनाई छ ।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व प्रति सबैको स्वामित्व नभएको उनको भनाइ छ ।
उनले संस्थापन पक्षसँग आगामी १५औँ महाधिवेशनलाई सहमति मार्फत सम्पन्न गर्न साझा संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव अघि सार्दै दुवै पक्षको सहमतिमा बनेको संयन्त्रले महाधिवेशन सम्पन्न गर्यो भने त्यसबाट चयन हुने नेतृत्वमा सबैको स्वामित्व स्थापित हुने बताए ।
हालको केन्द्रीय समितिका निर्णयहरू एकपक्षीय रूपमा भएको जिकिर गर्दै विशेष महाधिवेशनमा सबै पक्षको सहभागिता नभएको उनको भनाई छ ।