
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालयको बैठक आह्वान गरेको छ ।
भोली दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सो बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची (एजेन्डा) तय गरिएका छन्।
बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुनेछ ।
साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने छ। त्यस्तै पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ।
यसका साथै विविधअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता एवं लेवी लगायत विषयमा विस्तृत छलफल हुने समेत झाले बताएका छन् ।