कर्णाली, असोज २२ :

कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना- २०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । 

नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेश भर चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो । 

चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार परिचालित प्रहरी मध्ये चार हजार ९९ जनपद र २५२ ट्राफिक प्रहरी रहेका छन् ।

चाडपर्वका समयमा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी विभिन्न आपराधिक घटना हुनेसक्ने, सवारी दुर्घटनाका घटना, बैङ्क तथा वित्तीय सङ्घसंस्थालगायत क्षेत्रमा हुने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, पाकेटमारी जस्ता आपराधिक गतिविधि कम तथा निरुत्साहित गर्ने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरी नायब महानिरीक्षक भट्टराईले जानकारी दिनुभयो ।