
भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
भारत भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।
त्यस क्रममा मन्त्री पौडेलले राखेको प्रस्तावअनुसार ट्रमा सेन्टरको स्तरोन्नति तथा डायलासिस सेवा थप्न र सर्प दंशका बिरामीको उपचार र ‘डिजिटल हेल्थ’ अभियान कार्यान्वयनका लागि सघाउन पनि भारतीय समकक्षी नड्डाले प्रतिबद्धता जनाउनुभएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
आवश्यक तयारीपछि चाँडै यसबारे द्विपक्षीय समझदारी गर्ने सहमति समेत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले जानकारी दिनुभयो ।
मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकार्नु भएको उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनका लागि भारतमा रहनुभएका स्वास्थ्यमन्त्री पौडेलले आज साँझ कार्यक्रममा सम्बोधन गर्ने तय भएको उहाँको सचिवालयले जनाएको छ ।