
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लामा ६१ योजना सम्पन्न भएका छन् ।
आयोजनाको सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत प्रभावित क्षेत्रमा ती योजना सम्पन्न भएका हुन् ।
जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
आयोजना प्रभावित क्षेत्रमा विभिन्न विकास योजनाका लागि सहयोग गरिएको छ । जसअनुसार खानेपानी, सडक, विद्यालय भवन, खेलमैदान लगायतका काम गरिएका छन् ।
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । प्याकेज- १ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेसन, भियतनाम- कालिका कन्सट्रक्सनले गरिरहेको छ ।
आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत प्याकेज- २ को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ ।
प्याकेज- ३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड भारतले गरिरहेको छ ।