
पाकिस्तानमा सैनिक कर्मचारी बोकेको रेललाई लक्षित गरी गरिएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना घाइते भएका छन् ।
आइतबार बिहान पश्चिमी बलुचिस्तान क्षेत्रको राजधानी क्वेटास्थित चमन फाटक स्टेशन हुँदै रेल गुडिरहेको बेला विस्फोट भएको हो।
विस्फोटपछि रेलका तीन वटा डिब्बा र इन्जिन लिकबाट बाहिरिएका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। उक्त रेल सेवाले मुख्य रूपमा ईद मनाएर घर फर्किरहेका सैनिक कर्मचारी र उनीहरूका परिवारलाई ओसारपसार गरिरहेको थियो।
बलुचिस्तान लिबरेशन आर्मी नामक अलगाववादी समूहले आक्रमणको जिम्मेवारी लिँदै यो आत्मघाती बम विस्फोट भएको दाबी गरेको छ। तर पाकिस्तानी अधिकारीहरूले यसलाई अझै पुष्टि गरेका छैनन्।
घटनास्थलका तस्वीरहरूमा जलेका र क्षतिग्रस्त रेलका डिब्बाहरू, नजिकैका गाडीहरू तथा वरपरका भवनमा बमका कारण भएको क्षति देखिएको छ।
स्थानीय बासिन्दा नसीर अहमदले सँग कुरा गर्दै भने, “विस्फोट हुँदा रेल चलिरहेको थियो र यात्रुहरू त्यसमा सवार थिए।”
उनले आइतबार बिहान भएकाले आफ्नो परिवार सुतिरहेको बेला विस्फोट भएको र त्यसको झट्काले घरका सबै झ्याल फुटेको बताए।
प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन रेलमा ठोक्किएपछि विस्फोट भएको थियो।
बलुचिस्तानका एक प्रहरी अधिकारी र नागरिक प्रशासनका अधिकारीले कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। अधिकारीहरूका अनुसार मृतकमध्ये तीन जना सैनिक रहेका छन्।
पाकिस्तानका प्रधानमन्त्री सेहेबाज सरीफले उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्दै “यस्ता कायरतापूर्ण आतंकवादी गतिविधिले पाकिस्तानका जनताको संकल्प कमजोर बनाउन सक्दैन” भनेका छन्।