
गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका किसानहरूलाई ५० प्रतिशत अनुदानमा ६७ वटा हाते ट्र्याक्टर (पावर ट्रेलर) वितरण गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले वडा नं. ४ स्थित कृषि शाखाको कार्यालयबाट बुधबार उक्त सामग्रीहरू वितरण गरेको हो। किसानहरूलाई कृषि पेशातर्फ आकर्षित गर्दै आधुनिक कृषि प्रविधिको प्रयोग बढाउने उद्देश्यले उक्त ट्र्याक्टरहरू वितरण गरिएको जनाइएको छ।
नगरपालिकाका अनुसार यी हाते ट्र्याक्टरहरू "साझेदारी मोडेल" मा वितरण गरिएको हो, जसमा कुल लागतको आधा रकम (५० प्रतिशत) सम्बन्धित किसानले र बाँकी आधा रकम नगरपालिकाले बेहोरेका छन्। नगरपालिकाले सार्वजनिक सूचना जारी गरेपछि आवेदन दिएका र प्रक्रिया पुर्याएका किसानहरूले यो सुविधा प्राप्त गरेका हुन्।
हाते टयाक्टर वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख दीपक रिसालले कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरणमा नगरपालिकाको जोड रहेको बताए । उनले कृषिलाई आधुनिकीकरण नगरेसम्म उत्पादन बढाउन नसकिने बताए ।
उनले भने, ‘कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण नगरेसम्म उत्पादन बढाउन सकिँदैन। किसानको श्रम र समय बचत होस् भनी हामीले यो कार्यक्रम ल्याएका हौँ।’
यस वर्ष समेटिन नसकेका कृषकहरूलाई आगामी आर्थिक वर्षको कार्यक्रममा प्राथमिकताका साथ हाते ट्र्याक्टर वितरण गरिने समेत नगरपालिकाले जनाएको छ।
ट्र्याक्टर पाएपछि स्थानीयले खेतीपाती गर्न निकै सहज हुने बताएका छन् । शिक्षा र स्वास्थ्यमा फट्को मारेको गोकर्णेश्वर नगरपालिकाले कृषि र आयआर्जनको पेशालाई पनि उत्तिकै महत्व दिएको छ ।