
तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ ।
प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो
विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चा जन्मिएमा र कम तौल जन्मिएमा पनि आँखा केन्द्रमा गई परीक्षण गराउन सबै अभिभावकलाई आग्रह गरेको छ । यस वर्षको आँखा दिवसको नारा ‘बालबालिकाको आँखालाई माया गरौँ’ भन्ने थियो ।
यस नाराले बालबालिकाको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न सहयोग पुग्ने प्रतिष्ठाले विश्वास लिएको छ ।
पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरुको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरुको आँखामा विभिन्न समस्याहरू बढिरहेकाले विश्व स्वास्थ्य सङ्गठनले समेत सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसङ्ख्यामा दृष्टिदोषको समस्या देखिन सक्ने पूर्वानुमान गरेको प्रतिष्ठानले जनाएको छ ।
त्यसको रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षहरूले सहकार्य गर्दे समुदाय स्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको सुझाव छ।