
आज असार १५, देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ। २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँको अवसरमा मूल समारोह समितिले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र परिसर खुमलटारमा रोपाइँ कार्यक्रम गरी मनाएको छ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ दिवस मनाइएको कृषि विभागले जनाएको छ । दिवसका अवसरमा प्रविधिको प्रयोग गरेर रोपाइँ गरिएको थियो भने ड्रोनका माध्यमबाट मल छरिएको थियो ।
मूल समारोह कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीले धानको उत्पादनका लागि सम्बन्धित निकायले प्रयास गरिरहेको अवस्थामा किसानका समस्यामा समेत ध्यान दिन सके नेपाललाई आवश्यक धान उत्पादन गर्न सकिने बताए । सिँचाईको बिस्तार, मलको उपलव्धताका साथै बजार व्यवस्थापनमा उचित ध्यान दिन उनले सरकारलाई सुझाव दिए ।
त्यस्तै कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्र प्रसाद मिश्रले धानको औसत उत्पादकत्व अझै पनि न्यून रहेकाले उत्पादन बृद्धिका लागि देखिएका चुनौती समाधान गर्नुपर्ने बताए । अहिले एकल धान बालीमा केन्द्रीत रहेको अवस्थामा सिँचाई र मलको उपलव्धता भए धानको दुई बाली लगाउन सकिने उनको भनाइ छ । उहाले अहिले मलको अन्तराष्ट्रिय मूल्यबृद्धिका कारण प्रयाप्त मल ल्याउन बजेटको अभाव रहेको उल्लेख गरे ।
कृषि विभागका अनुसार नेपालमा ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा खेती गरी ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धान उत्पादन भएको विभागले जनाएको छ । यद्यपि, देशलाई वार्षिक करिब ७० लाख मेट्रिकटन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब १० लाख मेट्रिकटन धान अपुग रहेको उल्लेख गरेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।