काठमाडौं, असार २४ :

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संशोधित विधानमा उल्लेख कारवाहीको विषयलाई फरक ढंगले बुझ्न नहुने बताएका छन् ।

बुधबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले पार्टीको संशोधित विधान कुनै एक व्यक्तिले नभई केन्द्रीय समितिबाट छलफल भएर पारित भएको भन्दै कारवाहीको विषयलाई फरक ढंगले बुझ्न नहुने बताए । उनले विधानमा सभापतिदेखि सदस्यसम्मको चयन प्रक्रिया र बर्खास्त हुने अवस्थाको परिकल्पना गरिएको धारणा राखे ।  

अन्य पदाधिकारीहरू जस्तै संसदीय दलको नेताको पदको अन्त्यका बारेमा पनि विधानमा व्याख्या गरिएको उनको भनाइ छ । अहिले रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेका छन् । वर्तमान अवस्थामा पार्टी सभापति भन्दा शक्तिशाली देखिएका प्रधानमन्त्री पार्टी नीति विपरीत जान खोजे सभापतिलाई कारबाहीको डन्डा चलाउने अधिकारी प्रदान गरिएको छ । संशोधित विधानले सभापतिलाई शक्तिशाली बनाएपछि बालेन पक्ष केही ससंकित भएका छन् ।

सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधानका बिषयमा नेता पराजुलीले विधानमा उल्लेख प्रावधानको अपव्याख्या गर्न खोजिएको तर्क गरे। विधान बनाउँदा कुनै निश्चित व्यक्ति वा पदलाई हेरेर नभइ आगामी दिनमा पार्टीलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्य राखेर बनाइएको उनले बताए ।