
समाजसेवी एवं राजनीतिज्ञ विजय कुमार बस्नेत ‘अन्तर्राष्ट्रिय गौरव अभिमान अवार्ड २०२६’ बाट सम्मानित भएका छन्।
समाजसेवाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मोरङको लेटाङ–६, जाँतेस्थित शिवशक्ति बाबा धाममा आयोजित महाकाली मुर्ति स्थापना तथा प्राण प्रतिष्ठा एवं सनातन धर्म सम्मान समारोहमा जगत गुरु शंकराचार्य स्वामी ज्ञानानन्द तीर्थले बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन्। नेपाल सितोरियो कराते संघका केन्द्रीय सदस्य समेत रहेका बस्नेतलाई खेलकुदसहित देश र समाजका लागि अनवरत सेवा पूर्याए बापत सम्मान गरिएको हो ।
सम्मान ग्रहणपछि उनले विगतमा आफुले गरेको सेवायुक्त कामको स्मरण गर्दै भविष्यमा पनि विपन्न तथा असहाय व्यक्तिहरूको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
नेपाल र भारतका धार्मिक,सामाजिक तथा बौद्धिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको सो समारोहका वक्ताहरुले सनातन धर्म, विश्व शान्ति, आपसी सद्भाव र नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
समारोहमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला प्रमुख अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रमको सभापतित्व जगतगुरु शिवशक्ति बाबाले गरेका थिए ।
नरेन्द्र मोदी विचार मञ्च भारत,अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च तथा इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसनले सामाजिक सेवा,मानवीय सहायता तथा समाज रूपान्तरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने गरेको छ ।