काठमाडौं, साउन ५ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अधिकांश क्यानडेली सामानमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।

उनले क्यानडाले अमेरिकी सवारीसाधन, मदिरा र दुग्धजन्य उत्पादनमाथि अनुचित व्यवहार गरेको आरोप लगाएका छन्।

यो कदमले नयाँ आर्थिक अस्थिरता निम्त्याउन सक्ने अनुमान गरिएको छ। यसबाट महँगी (मुद्रास्फीति) बढ्ने जोखिम र ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि पहिले नै तनावपूर्ण बनेको दुई देशबीचको सम्बन्ध थप कमजोर हुने सम्भावना देखिएको छ।

ट्रम्प प्रशासनका एक अधिकारीले यस कदमको पूर्व जानकारी दिँदै क्यानडा चीनबाहेक ट्रम्पका अघिल्ला ट्यारिफको जवाफी कारबाही गर्ने थोरै देशमध्ये एक भएको र त्यसका लागि उसलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन्।

राष्ट्रपतिको निर्णयबारे पत्रकारहरूलाई जानकारी दिने क्रममा ती अधिकारीले आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गरेका थिए। उनका अनुसार ट्रम्पले सन् १९३० को व्यापार ऐनको धारा ३३८ अन्तर्गत ट्यारिफ लागू गर्न तीनवटा घोषणा पत्रमा हस्ताक्षर गरेका छन्।

गत वर्ष केही डेमोक्रेटिक सांसदहरूले उक्त धारालाई हटाउन प्रस्ताव गरेका थिए किनकि उनीहरूको भनाइमा ट्रम्पले यसको प्रयोग गरेर अमेरिकी अर्थतन्त्रलाई अस्थिर बनाउन सक्ने खतरा थियो।

नयाँ ५० प्रतिशत ट्यारिफबाट ऊर्जा उत्पादन, पोटास, माछा र महत्वपूर्ण खनिजहरू भने छुट दिइनेछ। तर यसमा पहिले  अमेरिका–मेक्सिको–क्यानडा सम्झौता अन्तर्गत अमेरिकी आयात करबाट सुरक्षित रहेका केही सामान पनि समावेश हुनेछन्। सन् २०२० मा भएको उक्त व्यापार सम्झौतालाई अमेरिकाले नवीकरण नगरेपछि नयाँ वार्ता प्रक्रिया सुरु भएको छ जुन सन् २०३६ सम्म चल्न सक्ने बताइएको छ।

ह्वाइट हाउसले जारी गरेको जानकारी पत्रमा यी ट्यारिफहरू ३० दिनपछि लागू हुने उल्लेख गरिएको छ।

यस अवधिमा वार्ताका लागि समय रहनेछ किनकी ट्रम्पले घोषणा गरेका सबै करसम्बन्धी निर्णयहरू सधैँ कार्यान्वयनमा नपुगेका उदाहरणहरू पनि छन्।