
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १४.१७ अंकले बढेर २ हजार ७२६.७२ बिन्दुमा पुगेको छ। बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ०.५२ प्रतिशतले सुधारिएको हो।
बिहीबार कारोबारमा सहभागी कम्पनीमध्ये १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
यस दिन ५७ हजार ७८२ पटकको कारोबारमा १ करोड ७२ हजार २२२ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी र अन्य बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। लगानी उपसमूहको परिसूचक ०.४२ प्रतिशत तथा अन्य उपसमूहको परिसूचक ०.०८ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।