
प्रतीकात्मक तस्बिर ।
भरतपुर महानगरपालिका-१६ मा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज दिउँसो करिब ३:२० बजेको समयमा रोयल फर्मासिटीकल्स उद्योगको दोस्रो तल्लामा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिण्डर पड्किएको थियो ।
सिलिण्डर पड्किँदा त्यहीँ काम गरिरहेका भरतपुर महानगरपालिका-१२ का ३० वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पर्टेर्वा सुगौली गाउँपालिका-५ का २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका छन् । घाइतेमध्ये कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो करिब ४:०५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
उनका अनुसार अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको उनले उल्लेख गरे । दुवै जना रोयल फर्मासिटीकल्स उद्योगमा एसीमा ग्यास भर्नका लागि त्यहाँ गएका थिए