.webp)
कुवेतको उत्तरी क्षेत्रमा इरानी मिसाइल आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ ।
आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको कुवेतस्थित नेपाली राजदूताबासले जनाएको छ ।
सो घटना हिजो भएको कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी गराएको थियो ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा आक्रमण हुँदा नेपाली श्रमिकको मृत्यु भएको हो । तामाङ २०२२ देखि कुवेतमा सवारी चालकको काम गर्दै आएका थिए ।
इरान र अमेरिका–इजरायलबीच जारी युद्धबाट पश्चिम एसियामा मृत्यु हुने नेपाली श्रमिकको संख्या दुई पुगेको छ । यसअघि यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो ।
कुवेतको रक्षा मन्त्रालयले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार इरानको आक्रमणले देशको उत्तरी क्षेत्रमा रहेको एक चिनियाँ कम्पनीको भवनलाई निसाना बनाउँदा एक श्रमिकको मृत्यु भएको जनाएको थियो । भवनमा ठूलो परिमाणमा भौतिक क्षति पुगेको छ ।
नेपाली राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
दूतावासले स्व. तामाङको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल पठाउनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिएको छ।
कुवेतमा विकसित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
दूतावासले कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र संयमित भई सुरक्षित स्थानमा रहन अपिल गरेको छ ।