काठमाडौं, साउन १६ :

पाकिस्तान–चीन सीमामा रहेको विश्वकै अग्ला हिमालमध्ये एक ब्रोड पिकमा गएको हिउँ पहिरोपछि बेपत्ता भएका अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव उद्धार टोलीले फेला पारेको स्थानीय प्रशासनले जनाएको छ।

गाइस १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीका सदस्य थिए। 

उक्त टोली ब्रोड पिक आरोहणका क्रममा बिहीबार हिमपहिरोमा परेको थियो।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ३९ वर्षीया गाइस अमेरिकाको टेक्सास राज्यस्थित सान एन्टोनियो शहरकी बासिन्दा थिइन्।

यसैबीच हिमपहिरोमा मृत्यु भएका अन्य दुई जनाको पनि पहिचान भएको छ। उनीहरू ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ हुन्।

स्थानीय गिलगिट–बाल्टिस्तान सूचना विभागका अनुसार तीनै जनाको शव हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ जहाँ पहिचान पुष्टि तथा कानुनी प्रक्रिया पूरा गरिनेछ।

यसअघि अल्पाइन क्लब अफ पाकिस्तानले चारवटा शव फेला परेको जनाएको थियो। तर पछि स्पष्ट पार्दै वास्तवमा दुईवटा शव र एउटा मानव शरीरको अङ्ग मात्र फेला परेको जानकारी दिएको छ।

क्लबका अनुसार ड्रोनमार्फत अन्य केही व्यक्तिहरू पनि देखिएका छन्। तर उनीहरू जीवित छन् वा छैनन् भन्ने अवस्था शनिबार उद्धार टोली घटनास्थलमा पुगेपछि मात्र पुष्टि हुनेछ। खराब मौसमका कारण उद्धार कार्य प्रभावित भएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानले अझै पनि एक जना आरोहीको अवस्थाबारे कुनै जानकारी नभएको जनाएको छ।

शुक्रबारपछि अमेरिकी आरोही म्यालोरी गाइसको शव फेला परेको पुष्टि गरिएको हो।

८,०४७ मिटर (२६,४०० फिट) अग्लो ब्रोड पिकमा बिहीबार हिमपहिरो गएको खबरपछि खोज तथा उद्धार अभियान सुरु गरिएको थियो। यो हिमाल काराकोरम पर्वतशृङ्खलामा अवस्थित छ।

यो बहु राष्ट्रिय आरोहण टोलीको नेतृत्व नेपालका पर्वतारोही निर्मल पुर्जाले गरिरहेका थिए।

निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी समयमै आरोहण गरेर विश्वभर चर्चित भएका थिए।

अल्पाइन क्लब अफ पाकिस्तानका सार टोलीका तीन सदस्य समा निर्मल पुर्जा पनि छन् । जीपीएस ट्र्याकरबाट केही गतिविधि देखिएको थियो। तर ती स्थानमा पुगेको उद्धार हेलिकोप्टरले कुनै व्यक्ति देख्न सकेन।

पछि उद्धारकर्ताले तीमध्ये एउटा जीपीएस ट्र्याकर फुटेको अवस्थामा फेला पारे जसका कारण पहिले देखिएको गतिविधि सम्भवतः प्राविधिक त्रुटि (ग्लिच) भएको हुन सक्ने अनुमान गरिएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानकी सञ्चार प्रमुख नाइला कियानीले यस्तो कठिन मौसममा २४ घण्टाभन्दा बढी समय बितिसकेपछि जीवित भेटिने सम्भावना अत्यन्त न्यून रहेको बताइन्। तर उनले चमत्कार पनि हुन सक्छ भन्दै आशा भने नत्यागिएको उल्लेख गरिन्।

यसअघि शुक्रबार पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकोप्टर, उद्धारकर्मी तथा विशेष उपकरणसहित घटनास्थलतर्फ पठाएको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको थियो।