काठमाडौं, साउन १७ :

कागेश्वरी मनोहरा नगरपालिकाले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुन इच्छुक युवालाई आवेदन दिन आह्वान गरेको छ।

नगरपालिकाले शनिबार जारी गरेको सूचनाअनुसार युथ क्लाइमेट एक्सन फन्ड (वाईसीएएफ) अन्तर्गत सञ्चालन हुने कार्यक्रममा १५ देखि २४ वर्ष उमेर समूहका युवाहरुले आवेदन दिन सक्नेछन्।

कार्यक्रममार्फत युवालाई जलवायु परिवर्तनका असर, वातावरण संरक्षण, हरित विकास, फोहोर व्यवस्थापन, जैविक विविधता संरक्षण तथा दिगो समुदाय निर्माणसम्बन्धी गतिविधिमा सहभागी गराई नेतृत्व क्षमता विकास गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

आवेदक कागेश्वरी मनोहरा नगरपालिकाको स्थायी वा अस्थायी बासिन्दा हुनुपर्ने तथा जलवायु परिवर्तन र वातावरण संरक्षणसम्बन्धी गतिविधिमा रुचि र सक्रिय रूपमा सहभागी हुने इच्छा भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

नगरपालिकाका अनुसार निर्धारित ढाँचामा आवश्यक कागजातसहित आवेदन नगरपालिकामा वा तोकिएको माध्यममार्फत पेश गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति २०८३ साल भदौ २९ गते तोकिएको छ।

थप जानकारीका लागि नगर कार्यपालिकाको कार्यालयको फोन नम्बर ९८६१०३९२०९ वा इमेल [email protected] तथा [email protected] मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ।