काठमाडौं, साउन १८ :

पहिलो संस्करणको ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ।

पेसएक्स स्पोर्ट्सको आयोजनामा बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न फाइनलमा मेन्टेनले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो। निर्धारित समयमा दुवै टोली ३–३ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

प्रतिस्पर्धात्मक फाइनलमा होराकले दोस्रो मिनेटमै सन्दीप कार्कीको गोलबाट अग्रता लिएको थियो। त्यसको केहीबेरमै मेन्टेनका रविन चौलागाईंले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। नवौँ मिनेटमा सैलेन्द्र मगरले गोल गरेपछि पहिलो हाफमा होराक २–१ ले अगाडि रह्यो।

दोस्रो हाफको अन्तिमतिर होराकले अर्को गोल थप्दै ३–१ को बलियो अग्रता बनाएको थियो। तर, खेलको अन्तिम समयमा मेन्टेनका योगेश श्रेष्ठले लगातार दुई गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्‍याए। त्यसपछि भएको पेनाल्टी सुटआउटमा मेन्टेनले बाजी मार्दै पहिलो संस्करणको उपाधि जित्न सफल भयो।

साउन १५ देखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको थियो। क्वार्टरफाइनलमा मेन्टेनले नोबेल फुटबल एकेडेमीलाई २–० तथा होराकले डाइनामिक एफसीलाई ३–१ ले पराजित गरेका थिए। अन्य क्वार्टरफाइनलमा ठमेल ११ ले एभरेस्ट एफसीलाई ३–१ तथा रोयल नेपालले करुणा एफसीलाई ४–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए।

सेमिफाइनलमा होराकले ठमेल ११ लाई ३–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। अर्को सेमिफाइनलमा मेन्टेनले निर्धारित समयमा १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा रोयल नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा ठमेल ११ ले रोयल नेपाललाई २–१ ले पराजित गरेको थियो।

उपाधिसँगै मेन्टेन एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता होराक एफसीले ५१ हजार १ सय ११ रुपैयाँ तथा तेस्रो भएको ठमेल ११ ले २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पारे।प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

आयोजक पेसएक्स स्पोर्ट्सले नेपाली खेलकुदको विकास र विस्तारलाई लक्ष्य राख्दै आगामी दिनमा फुटसलसँगै अन्य विभिन्न खेलकुद प्रतियोगितासमेत नियमित रूपमा आयोजना गर्ने जनाएको छ।