
काठमाडौं उपत्यकामा बग्ने नदीहरू माथि तत्कालीन समयमा बनाइएका पुलहरूको तलमाथि अचेल दुबैतर्फ सररर.. गाडी गुड्छन् । पानी बग्ने भागलाई साँधुरो बनाएर निर्माण गरिएको सडकले उपत्यकाको ट्राफिक जामलाई सहज बनाइएको त छ नै तर त्यही बाटोकै कारण बर्खायाममा पटकपटक खोला बस्तीमा पस्ने गरेको घटना पनि हामीले बिर्सनु हुँदैन ।
ती नदीको प्राकृतिक बहावलाई ध्यानमा राखेर बनाइएका संरचना थिए। बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदीमाथिका ती पुलहरू निर्माण गर्दा तत्कालीन इन्जिनियरहरूले नदीको चौडाइ, पानीको बहाव, बाढीको सम्भावित अवस्था र दीर्घकालीन प्रभावलाई अध्ययन गरेका थिए। त्यसैले ती पुलहरू दशकौँसम्म प्रभावकारी रूपमा सञ्चालन भइरहे।
तर समयसँगै काठमाडौं उपत्यकाको स्वरूप तीव्र रूपमा परिवर्तन भयो। जनसंख्या बढ्यो, बस्ती विस्तार भयो, खुला क्षेत्रहरू कंक्रिटले भरिए र यातायात व्यवस्थापनका लागि नयाँ संरचनाको आवश्यकता बढ्दै गयो। यही क्रममा नदी किनार र पुलमुनिका क्षेत्रलाई प्रयोग गर्दै कोरिडर सडकहरू निर्माण गरिए। यी सडकहरूले उपत्यकाको यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान दिएका छन्। बिजुलीबजार, मीनभवन, बालकुमारी, बल्खु, कुपण्डोल, टेकु तथा रिङरोड आसपासका पुलमुनिका सडकहरूले मुख्य सडकमा हुने सवारी चाप घटाउन सहयोग गरेका छन्। यसको सकारात्मक पक्षलाई बेवास्ता गर्न सकिँदैन।
तर विकाससँगै देखिएका जोखिमलाई पनि हामीले गम्भीरतापूर्वक बुझ्न आवश्यक छ। पुराना पुलहरू निर्माण हुँदा पुलमुनिको सम्पूर्ण क्षेत्र नदीको बहावका लागि खुला थियो। पछि नदी किनारमा सडक विस्तार गरिँदा पानी बग्ने क्षेत्र क्रमशः साँघुरो हुँदै गयो। सामान्य अवस्थामा यसको असर कम देखिए पनि ठूलो वर्षा हुँदा नदीले बोक्नुपर्ने पानीको मात्रा अत्यधिक बढ्छ। बहाव क्षेत्र सीमित भएपछि पानीको सतह माथि उठ्छ, नदी किनारका सडक डुब्छन् र कतिपय अवस्थामा बस्तीभित्र पानी पस्ने अवस्था सिर्जना हुन्छ।
काठमाडौंमा बाढीको जोखिम बढ्नुको अर्को प्रमुख कारण तीव्र सहरीकरण पनि हो। पहिले वर्षाको पानी जमिनले सोस्ने गर्दथ्यो, तर अहिले अधिकांश क्षेत्र घर, भवन, सडक र पार्किङले ढाकिएका छन्। जमिनको प्राकृतिक पानी सोस्ने क्षमता घटेपछि वर्षाको पानी छोटो समयमा नै ढल, नाला र सडक हुँदै नदीमा पुग्छ। एकैपटक ठूलो मात्रामा पानी नदीमा मिसिँदा बाढीको सम्भावना स्वाभाविक रूपमा बढ्छ।
यससँगै ढल तथा निकास व्यवस्थापनको समस्या पनि थपिएको छ। पुरानो जनसंख्यालाई ध्यानमा राखेर बनाइएका ढल प्रणाली आजको घना सहरी संरचनाका लागि पर्याप्त छैनन्। कतिपय स्थानमा प्राकृतिक कुलो, खहरे र पानी निकासका मार्ग अतिक्रमणमा परेका छन्। नियमित सरसफाइ, मर्मत र वैज्ञानिक व्यवस्थापनको अभावले वर्षायाममा समस्या अझ गम्भीर बन्ने गरेको छ।
त्यसैले नदीलाई थप साँघुरो बनाएर सडक विस्तार गर्नु दीर्घकालीन समाधान होइन। अब विकासको सोचमा परिवर्तन आवश्यक छ। सम्भव भएका स्थानमा फ्लाइओभरजस्ता आधुनिक संरचना निर्माण गरेर नदीमुनिको क्षेत्रलाई पानीको प्राकृतिक बहावका लागि खुला राख्न सकिन्छ। यसले यातायातलाई सहज बनाउनुका साथै नदी र वातावरणको संरक्षणमा पनि सहयोग पुर्याउँछ।
गोपीकृष्ण पुल, पहेँलो पुल, कालोपुल, रातोपुल, सेतो पुल, अनामनगर र बिजुलीबजार क्षेत्रका पुलमुनिका सडकहरूले अहिले यातायातलाई सहज बनाएका छन्। तर भविष्यको काठमाडौं कस्तो बनाउने भन्ने विषयमा दीर्घकालीन योजना आवश्यक छ। मुख्य सडकहरूमा योजनाबद्ध रूपमा आधुनिक यातायात संरचना निर्माण गर्न सकिएमा सवारी जाम घट्ने मात्र होइन, राजधानीको स्वरूप पनि थप व्यवस्थित र आकर्षक बन्न सक्छ।
काठमाडौंलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय नदीलाई नियन्त्रण गरेर साँघुरो बनाउनु होइन, नदीलाई उसको प्राकृतिक मार्गमा स्वतन्त्र रूपमा बग्न दिने वैज्ञानिक योजना बनाउनु हो। विकास र प्रकृतिबीच सन्तुलन कायम गर्न सकियो भने मात्र आगामी पुस्ताले सुरक्षित, व्यवस्थित र दिगो राजधानी पाउनेछन्।