सिरहा, साउन २१ :

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न सिरहाको गोलबजारमा आयोजित संयुक्त सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा क्षेत्र नम्बर–४ का सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि केहीबेर तनावको अवस्था सिर्जना भएको छ।

बिहीबार आयोजित कार्यक्रममा मन्तव्यका क्रममा सांसद यादवले केही राजनीतिक दलका नेताहरूको अभिव्यक्तिका कारण घटना भएको आरोप लगाएपछि उपस्थित विभिन्न राजनीतिक दलका समर्थक र रास्वपा समर्थकबीच भनाभन भएको थियो। स्थिति थप तनावग्रस्त हुन नदिन नेपाल प्रहरीले सांसद यादवलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।

साम्प्रदायिक सद्भाव कायम गर्दै सामाजिक सहिष्णुता र आपसी भाइचारा पुनःस्थापित गर्ने उद्देश्यले उद्योग व्यापार संघ गोलबजारले हिन्दु र मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरेको थियो। कार्यक्रममा दुवै समुदायका नागरिक, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीय अगुवाको सहभागिता रहेको थियो।

सभाका अन्य वक्ताहरूले सुनसरी र गोलबजारमा भएका घटनामा राज्य संयन्त्रको कमजोरी नै मुख्य कारण रहेको धारणा राखेका थिए। उनीहरूले समयमै प्रभावकारी सुरक्षा व्यवस्था, समन्वय र संवेदनशीलता अपनाइएको भए यस्ता दुःखद घटना टार्न सकिने बताएका थिए।

सुनसरी र सिरहामा भएको गोलीकाण्डमा गणेश यादव, ओमप्रकाश महतो, जयप्रकाश महतो र रविन्द्र मेहताको मृत्यु भएको थियो। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले शान्ति, सामाजिक सद्भाव र कानुनी शासनको प्रत्याभूति गर्न सरकारसँग माग गरेका थिए।