काठमाडौं, भदौ १० :

रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म १९ जनाको शव फेला परेको छ। तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार बाढीपछि खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका विभिन्न नदी तटीय क्षेत्रमा १९ वटा शव फेला परेका हुन्।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। बाढीमा परी घाइते भएका १९ जनाको उद्धार गरी उपचारका लागि काठमाडौंका विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि नेपाल प्रहरीसहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।