
तिब्बत हुँदै भोटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका दुई दाजुभाइको खोजीमा आफन्त भरतपुर अस्पताल पुगेका छन्।
भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको पोस्टमार्टम घरबाहिर आफ्ना आफन्तको खोजीमा छन्। उनीहरूले माधव न्यौपाने र सबिन न्यौपानेको तस्बिर बोकेर अस्पताल पुगेका हुन्।
माधव र सबिन लिलावतीका भाइ हुन्। बाढीमा परेर उनीहरू बेपत्ता भए पनि अहिलेसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
ठाकुरका अनुसार माधव चीन र नेपालबीच हुने सामानको आयात–निर्यातमा संलग्न थिए भने सबिन बैंकका कर्मचारी हुन्।
बाढीपछि संकलन गरेर ल्याइएका शवको पहिचानका क्रममा उनीहरूले पनि शव हेरेका थिए। तर, ती शवमध्ये माधव र सबिन भेटिएनन्।
ठाकुरका अनुसार केही शवको अवस्था निकै विक्षिप्त छ। ‘केही शवको टाउको नै छैन। केही शव चिनियाँ नागरिकजस्तो देखियो,’ उनले भने, ‘हामीले खोजिरहेकाहरू यहाँ भेटिएनन्।’
भरतपुर अस्पतालको शव गृहबाहिर बाढीमा बेपत्ता भएका अन्य व्यक्तिका परिवार र आफन्त पनि जम्मा भएका छन्। उनीहरू आफ्ना आफन्तको तस्बिर प्रिन्ट गरेर तथा मोबाइलमा तस्बिर बोकेर पहिचानका लागि अस्पताल पुगेका छन्।
बेपत्ता आफन्तको अवस्था पत्ता लाग्ने आशामा परिवारजनले संकलित शवको पहिचान गरिरहेका छन्। तर, उनीहरूले अझैसम्म आफ्ना आफन्तबारे यकिन जानकारी पाउन सकेका छैनन्।