
कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशनबीच स्थानीय युवालाई व्यावसायिक सीप तथा अन-द-जब ट्रेनिङ (ओजेटी) प्रदान गरी रोजगारीसँग जोड्ने सम्झौता भएको छ ।
सोमबार नगरपालिकामा भएको सम्झौताअनुसार पहिलो चरणमा कम्तीमा एक सय युवालाई विभिन्न क्षेत्रमा थप सीपमूलक तालिम प्रदान गरी रोजगारीको अवसरसँग जोडिनेछ। सम्झौताअनुसार नगरपालिकाले सञ्चालन गरेका तथा आगामी दिनमा सञ्चालन गर्ने प्रारम्भिक सीपमूलक तालिमबाट उपयुक्त प्रशिक्षार्थी छनोट गर्नेछ । छनोट भएका युवालाई फाउण्डेशनले सम्बन्धित क्षेत्रका रोजगारदातासँग समन्वय गरी थप व्यावसायिक तालिमसँगै प्रत्यक्ष ओजेटीको अवसर उपलब्ध गराउनेछ ।
कार्यक्रमअन्तर्गत हस्पिटालिटी, इसिडी/मोन्टेसरी, सूचना प्रविधि (आइटी), रिटेल चेन, कृषि प्रविधि तथा एप्स, सवारीसाधन तथा अटोमोबाइल, विद्युतीय उपकरण तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी गार्डलगायतका क्षेत्रमा तालिम तथा ओजेटी सञ्चालन गरिनेछ ।
प्रारम्भिक सीपमूलक तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई कार्यस्थलको व्यावहारिक अनुभवसँग जोडेर रोजगारयोग्य जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाएको छ । स्थानीय श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारी तथा स्वरोजगारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
सम्झौतापछि बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले शैक्षिक योग्यता भए पनि व्यावहारिक अनुभवको अभावमा रोजगारी खोजिरहेका युवालाई सीप र अनुभवसहित श्रम बजारमा प्रवेश गराउन कार्यक्रम प्रभावकारी हुने बताए । सीपयुक्त जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीचको खाडल घटाउन निजी क्षेत्रसँगको साझेदारी महत्वपूर्ण हुने उनको भनाइ छ ।
कार्कीले अस्ट्रेलियामा आइटी व्यवसायमा सफलता हासिल गरेपछि मातृभूमिमा योगदान गर्ने उद्देश्यले फाउण्डेशन स्थापना गरिएको पहलको प्रशंसा गर्दै कार्यक्रमलाई नमुना मोडलका रूपमा विकास गर्न सकिने बताए । सफल भएमा अन्य स्थानीय तहले समेत यसबाट सिकेर यस्ता कार्यक्रम विस्तार गर्न सक्ने उनको भनाइ छ ।
फाउण्डेशनका कार्यक्रम प्रबन्धक जगदीश लोहनीले अस्ट्रेलियामा आइटी व्यवसायमा सफल भएपछि आफ्नो ठाउँमा योगदान गर्ने उद्देश्यले नगरपालिकासँग सहकार्य गरिएको बताए । तालिम दिएर मात्र कार्यक्रमलाई सीमित नराखी निजी क्षेत्र तथा अन्य संस्थासँगको साझेदारीमा युवालाई सिधै रोजगारीमा जोड्ने लक्ष्य रहेको उनले बताए ।
‘शैक्षिक योग्यता भएर पनि व्यावहारिक अनुभव नभएका युवा र अनुभवी जनशक्ति खोजिरहेका रोजगारदाताबीचको खाडल पुर्न ओजेटीले सेतुको काम गर्छ,’ लोहनीले भने ।उनका अनुसार कार्यक्रम विशेषगरी सूचना प्रविधि, शिक्षा, कृषि तथा अन्य सेवा क्षेत्रमा केन्द्रित रहनेछ । पहिलो चरणमा कम्तीमा एक सय युवालाई सहभागी गराउने लक्ष्य भए पनि आगामी दिनमा हजारौँ युवालाई कार्यक्रममा जोड्ने योजना रहेको उनले बताए ।
नगरपालिका र फाउण्डेशनबीचको यो सहकार्यलाई दीर्घकालीन रूपमा विस्तार गर्दै अन्य स्थानीय तहले समेत अनुकरण गर्न सक्ने नमुना कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । उक्त सम्झौता कार्यक्रममा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीलगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।