काठमाडौं, भदौ १६ :

भोटेकोसी–त्रिशूली बाढीबाट सडक तथा पुलका संरचनामा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार नेपाल–चीन मितेरी पुलदेखि पृथ्वी राजमार्गसम्मको क्षति मूल्यांकन गर्दा उक्त रकम बराबरको क्षति देखिएको हो।

बाढीले रसुवातर्फ करिब ४० किलोमिटर सडक पूर्ण रूपमा बगाएको छ। गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डमा सबैभन्दा बढी क्षति पुगेको छ भने पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डसमेत प्रभावित भएको विभागले जनाएको छ।

बाढीबाट सडक विभाग मातहतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन्। देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा बेलीब्रिज राख्न डिजाइन सम्पन्न गरी काम अघि बढाइएको आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक जैसीले बताए ।

बाढीग्रस्त क्षेत्रमा सडक खुलाउन एक दर्जनभन्दा बढी उपकरण परिचालन गरिएको छ। गल्छी, बैरेनी, जरिखेत, पोखरे, बाङ्गे र गलौंदी क्षेत्रमा २ देखि ३ मिटर बाक्लो लेदो हटाएर सडक सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। आकस्मिक सडक मर्मतका लागि ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

मुख्य सडक अवरुद्ध भएपछि धादिङबेँसी र त्रिशूली बजार जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। फिस्लिङ–बेनीघाट जोड्न करिब १.५ किलोमिटर नयाँ ट्र्याक खोल्ने काम पनि अघि बढाइएको विभागले जनाएको छ।

क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा करिब ५० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। भविष्यमा जिल्ला सदरमुकाम जोड्ने पुल अग्ला र लामो बनाउनुपर्ने आवश्यकता बाढीले देखाएको महानिर्देशक जैसीले बताए। कृष्णभिरमा भित्तातर्फ काटेर सडक खोल्ने विषयमा जियोटेक्निकल विज्ञहरूसँग छलफल भइरहेको बताइएको छ ।

उपत्यकामा पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति सहज राख्न त्रिभुवन राजपथ र कान्ति लोकपथमा ट्याङ्कर तथा ग्यास बुलेटको आवागमनलाई उच्च प्राथमिकतामा राखिएको विभागले जनाएको छ।