रामेछाप, कात्तिक ४ :

रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ ।

सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो । 

यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल (रामेछापतर्फको) बगाउँदा रामेछाप, दोलखा, सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौँसम्मको छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो । 

अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्नेगरी तीव्र गतिमा काम भइरहेको र सोका लागि आवश्यक कच्चापदार्थ र अन्य व्यवस्थापनका कामका लागि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री पूर्णबहादुर तामाङले विशेष पहल गरिरहनुभएको भएको रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका वडाध्यक्ष समीर कार्कीले बताउनुभयो ।  
  
उक्त पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । हाल पुलको पाता बिछ्‌याउने र लेबल मिलाउने लगायत अन्य काम भइरहेका छन् ।

पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थली तर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म निर्वाध रुपमा दुईतर्फी सवारी आवागमन गर्नसक्ने अवस्था छैन ।

खुर्कोटको पुल बगाएपछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्न र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने सित्खाको पुलमार्फत वैकल्पिक सडकमार्ग प्रयोग गरी आवतजावत गर्ने व्यवस्था मिलाइएको भए पनि उक्त बाटोमार्फत ल्याइएका खाद्यान्न सामग्री महङ्गिएको छ ।