काठमाडौं, भदौ २१ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी छाडेका छन् । पाठकले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राप्रपा परित्यागको घोषणा गरेका हुन् । पार्टी सदस्यसमेत नरहने गरी अलग रहेको उनले जनाएका छन् ।उनले राप्रपासँगको एकताको आधार अनुसार यो अवधिमा ठोस कार्य हुन नसकेको हुँदा पार्टी छोडेको घोषणा गरेका छन् ।

राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमति भएसँगै उनी पार्टी प्रवेश गरेका थिए । राप्रपामा केन्द्रमा रहेको समस्याले नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई छिटपुट अपवादबाहेक आकर्षित गर्नै नसक्ने स्थिति रहेको उनले बताए ।  उनले करिब चार वर्षदेखि महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।