
रसुवा बाढीबाट दिवंगत भएकाहरूको आत्माको शान्ति तथा उत्तम गतिको कामना गर्दै विश्व हिन्दु महासंघलगायत विभिन्न धार्मिक संघसंस्थाको आयोजनामा पशुपतिनाथ मन्दिरपूर्व वाग्मती तटमा श्रद्धाञ्जली अनुष्ठान सम्पन्न भएको छ।
अनुष्ठानमा दिवंगत आत्माको उत्तम गतिको कामनासहित श्रीमद्भागवत पुराणका सूक्त, पुरुषसूक्त, रुद्रसूक्त, श्रीमद्भगवद्गीता, विष्णु सहस्रनाम स्तोत्र, रुद्राष्टकम्, महामृत्युञ्जय स्तोत्र तथा हरिनाम महामन्त्रलगायतका धार्मिक पाठ, जप एवं संकीर्तन गरिएको थियो।
विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका सभापति अरुणकुमार पाण्डेको उपस्थितिमा भएको कार्यक्रममा महासंघकी अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारी, राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा. डा. माधव भट्टराई, विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष महेश्वर पौडेल र नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेको उपस्थिति रहेको थियो ।
यस्तै, पूर्वमन्त्री डा. कान्ता भट्टराई र पूर्वराजदूत रामभक्त पी.भी. ठाकुरको समेत उपस्थिति रहेको कार्यक्रममा पुरोहित समाजका पण्डित कैलाश दाहाल, दक्षिण एसियाली ज्योतिष महासंघका राष्ट्रिय सभापति ज्यो. खिलानाथ काफ्ले, आध्यात्मिक ज्योतिष प्रतिष्ठानका अध्यक्ष ज्यो. टेकराज शास्त्री, राष्ट्रिय कथाव्यास समितिका कोषाध्यक्ष पं. सुरज पराजुली, श्रीकृष्ण प्रणामी सेवा समितिका महासचिव भोला दाहाल, गौरी आध्यात्मिक पत्रिकाका सम्पादक अर्जुन लामिछाने, चन्द्रेश्वर परिवारका कृष्णबहादुर कार्कीलगायत एक दर्जनभन्दा बढी धार्मिक तथा आध्यात्मिक संस्थाको सहभागिता रहेको कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो। यसैगरी, रसुवा बाढीमा दिवंगत भएकाहरूको तेह्रौँ दिन नेपालभर श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ।
कार्यक्रमलाई देशव्यापी बनाउन महासंघका उपसभापतिहरू महेश्वर पौडेल, लेखनाथ न्यौपाने, अर्चना शर्मा, बलराम शिवाकोटी र अम्बरबहादुर केसी, महासचिव उत्तमराज भण्डारी, कोषाध्यक्ष ऋषिराम पोख्रेल तथा सदस्यहरू आचार्य रविन्द्र पराजुली, अर्चना झा, गुरु लिलानाथ चौलागाईं, मिना सुवेदी, आचार्य सन्तोष न्यौपाने र विनोद पौडेललगायतले विशेष सक्रियता देखाएका थिए।
कार्यक्रममा सहभागीहरूले रसुवा बाढीमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। साथै दिवंगत आत्माको चिरशान्ति र उत्तम गतिको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो। गत भदौ १० गते बिहान भोटेकोसी नदीमा अकस्मात आएको विनाशकारी बाढीले सयौंको ज्यान लिएको छ भने अपुरणीय क्षति भएको छ ।