
नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दैछ ।
केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रतिवेदन तथा एमाले पुनर्गठन कार्य दलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न सचिवालय बैठक बस्न लागेको हो ।
कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने सो पार्टीले जनाएको छ ।
यसअघि बसेको कार्यदलमा दुई वटा प्रतिवेदन आएकाले एकै प्रतिवेदन तयार गर्न बैठक आह्वान गरिएको हो । आजै कार्यदलको बैठकपछि सचिवालयको बैठक दिउँसो १ बजे च्यासलमै आह्वान गरिएको छ ।
यसअघि कार्यदलको बैठकमा प्रतिवेदनबारे समझदारी नजुटेकाले यहाँबाट कस्तो निर्णय हुने भन्ने चासो एमाले नेता तथा कार्यकर्तामा रहेको छ ।
आजको कार्यदल र सचिवालय बैठकपछि भोलिबाट केन्द्रीय कमिटीको बैठक सुरु हुँदैछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्नेछन् ।