
बागमती, कात्तिक ६ :
हेटौँडा- काठमाडौँलाई जोड्ने हेटौँडा- कुलेखानी- फाखेल- सिस्नेरी- काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।
मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका- २ सिमखोलास्थित सडकमा ह्युम पाइप राखेर मर्मतसम्भार भएपछि सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युम पाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो ।
सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।