बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद

२०औँ एसियाली खेलकुद : नेपाललाई पदक दिलाउने खेलाडीसहितको टोली स्वदेश फर्किए

एसियाली खेलकुदको करातेमा नेपालका तेन्जिङ शेर्पाले मात्र पदक जिते ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५७ मिनेट अगाडि प्रकाशित
२०औँ एसियाली खेलकुद : नेपाललाई पदक दिलाउने खेलाडीसहितको टोली स्वदेश फर्किए
काठमाडौं, असोज १४ :

जापानको दुई फरक सहरमा भएको अन्तरराष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको नेपाली टोली स्वदेश फर्किएको छ ।

जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २०औँ एसियाली खेलकुद तथा योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११औँ सितोरियो कराते डो अन्तरराष्ट्रिय च्याम्पियनसिपका पदक विजेतासहितको स्वदेश फर्किएको हो । दुवै प्रतियोगितामा नेपालबाट तीन पुरुष र पाँच महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एसियाड खेलेका खेलाडी नै योकोहामामा भएको प्रतियोगितामा पनि सहभागी भएका थिए ।

एसियाली खेलकुदको करातेमा नेपालका तेन्जिङ शेर्पाले मात्र पदक जिते । उनले पुरुष ८४ केजीमाथि कास्य पदक जितेका थिए । तेन्जिङको पदक २०औँ एसियाडमा नेपालले जितेको पहिलो पदक हो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कास्य पदक पक्का गरेका थिए ।

समग्र एसियाडको करातेमा तेन्जिङ पदक दिलाउने पाँचौँ खेलाडी हुन् । यसअघि एसियाडमा करातेले एक रजत र तीन कास्य जितेको थियो । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कास्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए ।

आठै खेलाडीले प्रतिस्पर्धा गरेको योकोहामाको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत र तीन कास्य गरी छ पदक जितेको थियो । नेपालले व्यक्तिगत स्पर्धामा चार र टिम स्पर्धामा दुई गरी छ पदक हात पारेको थियो । महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाए । महिला ६८ केजी मुनि निरूपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजी मुनि मिनबहादुर तामाङले कास्य जिते ।

दोहोरो पदक जितेका एरिका र निरूपाले महिला टिम कुमुते पनि कांस्य हात पारे । यो स्पर्धामा उनीहरूसहित मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए । मेघा, एलिसा र सानुमायाले महिला टिम काता पनि कास्य प्राप्त गरे ।

एसियाली खेलकुदमा भाग लिएपछि नेपाली टोली जापानको नागोयाबाट योकोहामा भएको प्रतियोगितामा सहभागी भएको थियो । पदक विजेता तेन्जिङले आफूले कराते यात्रा सुरु गरेको बौद्ध डोजोलगायत सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै अझ लामो यात्रा तय गर्न बाँकी रहेको बताए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्य मोनालिशा खम्बु र ललिता नाथ, नेपाल कराते महासङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले स्वागत गरेका थिए ।

खेलाडीसँगै टोलीका व्यवस्थापक कराते महासङ्घका अध्यक्ष युवराज लामा, कराते महासङ्घका महासचिव दावा गुरुङ तथा प्रशिक्षकद्वय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ पनि स्वदेश फर्किएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार