काठमाण्डौँ , कात्तिक ७ :

आजदेखि १६ औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी  पाँच विकासशील देश सहभागी हुनेछन् ।

सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बीबीसीले जनाएको छ ।

महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । पुटिनले पर्सि बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्नु हुने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले बताउनुभएको उल्लेख छ ।

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भने टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि यसअघि नै रुसको भ्रमण रद्द गर्नुभएको छ ।

अब उहाँले भिडियो कन्फरेन्सको माध्यमबाट सम्मेलनमा भाग लिने जनाइएको छ। ब्रिक्स शिखर सम्मेलन पर्सि बिहीवार सकिनेछ ।