काठमाण्डौँ , कात्तिक ७ :

नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी अमेरिकी अवार्डबाट सम्मानित हुनुभएको छ ।

चौधरीलाई हिजो वाशिङ्गटन डिसीस्थित स्टेट डिपार्टमेन्टमा अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप अवार्डबाट सम्मानित  गर्नुभएको हो ।

छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुग्नुभएकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूह मार्फत काम गर्दै आउनुभएको छ  ।

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र  शोषणको लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी हुनुहुन्थ्यो । 

अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्दै आएको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुनुहुन्छ ।

गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गर्नुभएको थियो ।