
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)को राष्ट्रिय महाधिवेशन आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
पोखरामा सम्पन्न पार्टीको प्रथम विधान अधिवेशनले माघ २५ गतेदेखि महाधिवेशन गर्ने पार्टी सचिवालय बैठकको निर्णय पारित गरेको हो ।
यसैगरी अधिवेशनले पार्टीको नाम परिर्वतनगरी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बनाएको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको थापाले बताउनुभयो ।
अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्सीय र ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था गरेको छ । पदाधिकारीहरूमा एक अध्यक्ष,पाँच उपाध्यक्ष (एक महिला,एक जनजाति,एक मधेसी,एक खसआर्य र एक दलित), एक महासचिव,तीन सचिव र एक कोषाध्यक्ष रहनेछन् ।
पार्टीका सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ ।
पार्टीमा युवाको नेतृत्व स्थापित गर्न स्थानीय तहमा ४०,प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ ।
यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको रहेने व्यवस्था पनि गरिएको नेसपाले जनाएको छ । अधिवेशनमा अधिवेशनमा ७१ जिल्ला र विदेशबाट गरी कूल पाँच सय प्रतिनिधि सहभागी रहेका थिए ।
विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी ‘नयाँ शक्ति’ नामक अभियान सञ्चालन गर्नुभएको थियो ।
त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभएका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै नेपाल समाजवादी पार्टी बनेको थियो ।