काठमाडौं, कात्तिक २ :
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग- २ को अन्तिम खेलमा ओमानलाई पराजित गरेको छ ।
सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि देव खनालले ५७, रोहित पौडेलले ८० र दीपेन्द्रसिंह ऐरीले ६९ रन बनाए। जवाफमा ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यस जितसँगै नेपालले ३६ खेलमा ३० अंक जोड्दै लिग–२ को अंकतालिकामा छैटौं स्थान हासिल गरेको छ। यसअघि क्यानडासँग पराजित भएपछि नेपाल सातौं स्थानमा झरेको थियो। शीर्ष ६ मा पर्ने टोलीको ओडीआई मान्यता जोगिने सम्भावना उच्च रहेकाले नेपालको यो जित महत्वपूर्ण बनेको छ।