
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाल मत्स्य समाजद्वारा आज आयोजित मत्स्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न, खाद्य र पोषण सुरक्षाको सुनिश्चितता एवं गरिबी न्यूनीकरणमा मत्स्यपालन क्षेत्रको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।
सम्मेलनले नेपालको मत्स्य क्षेत्रको दिगो विकासको लागि एक कोशेढुङ्गाको रुपमा भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भूपरिवेष्टित राष्ट्र भए तापनि जलस्रोतमा तथा जलिय जैविक विविधतामा धनी भएको जनाउँदै उहाँले यस्ता स्रोतमा निर्भर रहेर धेरै समुदायको जीविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएकाले मत्स्यपालन क्षेत्रमा पनि जलवायु परिवर्तनको असरको सामना गर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीको भनाइ थियो ।
मत्स्यपालनले नेपालको कूल गार्हस्थ्य उत्पादनमा जम्मा ० दशमलब ४४ प्रतिशत योगदान गरे तापनि यो क्षेत्र यस दशकमा कृषि क्षेत्रको सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको उपक्षेत्र रहेको मन्त्री अधिकारीले बताउनुभयो ।
हालसालै स्वीकृत राष्ट्रिय मत्स्य विकास नीतिले नेपालमा मत्स्य प्रवर्द्धन तथा संरक्षणको लागि आवश्यक रणनीतिक मार्गचित्र तयार गरेको उहाँले बताउनुभयो ।
कृषि विकास रणनीतिले पनि नेपालका कृषि क्षेत्रको विकासका लागि मत्स्यपालनलाई तीन प्रमुख उपक्षेत्र मध्येको एकको रूपमा पहिचान गरेको मन्त्री अधिकारीको भनाइ थियो ।
सम्मेलनमा विभिन्न १० देशका दुई सय वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता, मत्स्य विकास अधिकृत, उद्यमी, किसान तथा विद्यार्थीको सहभागिता रहेको छ ।
सम्मेलनमा भारत, चीन, बङ्गलादेश, थाइल्याण्ड, हङ्गेरी, जापान, संयुक्त राज्य अमेरिका, फिलिपिन्स, मलेसिया र नेपालका प्रतिनिधि सहभागी भएको समाजका अध्यक्ष राईले जानकारी दिनुभयो ।
सम्मेलनमा ४० विदेशी, १०३ नेपाली गरी कुल एक सय ४३ वैज्ञानिक कार्यक्रम पेस गरिँदै छ ।
एक सय २१ मौखिक कार्यपत्र र २२ पोष्टर प्रस्तुतिकरण गरिने नेपाल मत्स्य समाजका अध्यक्ष प्राडा सुनिला राईले जानकारी दिनुभयो ।
सम्मेलनमा शिक्षाविद्, वैज्ञानिक, नीति निर्माता, व्यवसायी तथा सम्बन्धित क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विशेषज्ञहरूले आफ्ना अनुभव, प्रविधिको विकास, अनुसन्धान नतिजा तथा असल अभ्यासको ज्ञान आदानप्रदान हुने उहाँको भनाइ छ ।