म्याग्दी, कात्तिक १० :

जिल्लामा एकसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । 

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ । 

कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण व्यवसायीले काम सुरु गरिसकेको जानकारी दिनुभयो । 

दुईवटा सडक र दुई मोटरेबल पुलका निर्माण व्यवसायीले तिहारलगत्तै काम सुरु गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । एक सडक आयोजनामा ठेक्का प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीसँग सम्झौताको तयारीमा छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गत आर्थिक वर्ष २०८०- ८१ मा बहुवर्षीय ठेक्का लगाउनका लागि छनोट गरेका ती आयोजनाका लागि आर्थिक मामिला मन्त्रालयले रु एक अर्ब २० करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । 

पूर्वमन्त्रीसमेत रहेका म्याग्दी २ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले धेरै जनघनत्व भएका बस्तीमा रणनीतिक महत्वका सडक आयोजना भित्रिएको बताउनुभयो ।