आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार प्रदेश लुम्बिनी प्रदेश अर्थतन्त्र

कृषि पढ्दै गरेका युवाले फूल उत्पादन गरेर चार लाखभन्दा बढी कमाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ कात्तिक, २०८३ मा प्रकाशित
कृषि पढ्दै गरेका युवाले फूल उत्पादन गरेर चार लाखभन्दा बढी कमाए
बाँके, कात्तिक २५ :

कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर सो रकम आर्जन गरेका हुन् । उनीहरूले उत्पादन गरेको सबै फूल बिक्री भइसकेको छ ।

नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको ११ क्विन्टल फूल उत्पादन गरेर रु चार लाखभन्दा बढी आम्दानी भएको युवा व्यावसायी असिम सिग्देलले जानकारी दिनुभयो । उहाँले आफूहरूले उत्पादन गरेको सबै फूल सकिएपछि पनि फूलको माग नसकिएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको उल्लेख गर्नुभयो ।

फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यावसायी सिग्देलले यसपटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाए । उनले यसपटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफल भएको बताए ।

अर्का व्यवसायी चेतन केसीले भाइटीकाअघि नै उत्पादन गरेको सबै ११ क्विन्टल फूल बिक्री भइसकेको बताउँदै स्थानीयले फूलका लागि थप माग गरेपछि दाङबाट दुई क्विन्टल फूल ल्याएर बेचेको उल्लेख गरे । उनले यसपटक बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएकाले त्यता पनि पठाइएको बताए ।

अर्का व्यवसायी वेदराज आचार्यले थोरै मिहेनत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने कुरा फूलखेतीले प्रमाणित गरेको बताए । उनले रु ४०० किलो फूल बिक्री गरेको जनाउँदै अझै पनि माग भइरहेको सुनाए ।

बाँकेमा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ । जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको एसोसिएसनकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताए । उनका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ । पहिलोपटक यस वर्ष भारतीय फूल आयात रोक्न धेरै हदसम्म सफलता मिलेको छ । फूलखेती गरेका किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा फुटकर बिक्री केन्द्र खोलेर फूल बिक्री गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार