अमेरिकाभर लागू गरिएको उडान रोक्ने आदेश (ग्राउन्ड स्टप) हटाइएको छ।
प्राविधिक प्रणालीमा आएको समस्याका कारण देशभरका सबै उडान रोकिएका थिए। तर अमेरिकी यातायातमन्त्री सन डफीका अनुसार उक्त अवरोधको असर अझै केही दिनसम्म रहन सक्नेछ।
शनिबार बिहान बेलायतबाट अमेरिकाका लागि हुने केही उडान ढिला भएका छन् भने केही रद्द गरिएका छन्। ब्रिटिस एयरवेजले सबै उडान पुनः नियमित हुन केही समय लाग्न सक्ने जनाएको छ।
शुक्रबार राति ग्रिनविच समयअनुसार करिब ९ बजे सुरु भएको उडान रोक्ने आदेश झन्डै चार घण्टासम्म कायम रहेको थियो। सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा लगाइएको उडान प्रतिबन्ध यताकै यो सबैभन्दा लामो अवरोध हो।
अधिकारीहरूका अनुसार यो समस्या दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण भएको हो। उनीहरूले यो साइबर आक्रमण भएको कुनै प्रमाण नरहेको बताएका छन्।
पुराना प्रविधि र प्रणालीका कारण समस्या उत्पन्न भएको अधिकारीहरूको भनाइ छ। प्रणालीको पूर्ण पुनर्संरचना नगरिए यस्ता समस्या फेरि दोहोरिन सक्ने उनीहरूले चेतावनी दिएका छन्।