नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चमा दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता जुटेका छन् ।
आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा पुगेका थिए ।
सहमहामन्त्री प्रतिमा गौतमले १५ औँ अधिवेशनमा खुलामञ्चमा रोपिएको दुवोमा क्षति पुगेका कारण यसलाइ पहिलाको जस्तै स्वरुपमा राख्न दुबो रोप्ने काम गरिएको बताए । उनले दुबो रोप्ने मात्र नभइ यसको संरक्षण पनि गरिने बताइन्।
पार्टीले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको हो