मुगु, कात्तिक २९ :
मुगुमा पर्यटक सवार स्कोर्पियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रारा ताल जाने पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोर्पियो आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् । घाइते हुनेमा ललितपुरकी ५४ वर्षीया अन्जु थापा र ५८ वर्षीय जिप चालक कञ्चन थापा रहेका छन् ।
प्रहरीका अनुसार स्कोर्पियो पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।