कागेश्वरी मनोहरा नगरपालिका–४ अन्तर्गतको ब्रह्मखेल-नयाँपार्टी-चाँगुनारायण सडक कालोपत्रे गर्ने तयारी तीव्र पारिएको छ। लामो समयदेखि कच्ची तथा जीर्ण अवस्थामा रहेको उक्त सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्।
कागेश्वरी मनोहरा नगरपालिका र ऐतिहासिक पर्यटकीय क्षेत्र चाँगुनारायणलाई जोड्ने महत्त्वपूर्ण सडकका रूपमा रहेको यस खण्डमा कालोपत्रे कार्य अघि बढाउन प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा नापजाँच गरेको छ। वडा नं. ४ का अध्यक्ष विजय श्रेष्ठसहित प्राविधिकहरूको टोलीले सडकको चौडाइ, सतहको अवस्था, ग्रेडिङ, नाली व्यवस्थापनलगायत कालोपत्रे गर्नुअघि पूरा गर्नुपर्ने प्राविधिक पक्षको विस्तृत अवलोकन गरेको छ।
निरीक्षणका क्रममा सडक निर्माणलाई निर्धारित मापदण्डअनुसार गुणस्तरीय बनाउन तथा तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई आवश्यक निर्देशनसमेत दिइएको छ।
लामो समयदेखि सडकको दुरवस्थाका कारण स्थानीयवासीले आवतजावतमा विभिन्न समस्या भोग्दै आएका थिए। विशेषगरी वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण यात्रु तथा स्थानीय बासिन्दा प्रभावित हुँदै आएका थिए। सडक कालोपत्रे भएपछि आवागमन सहज हुनुका साथै यातायात सञ्चालनमा सुधार आउने अपेक्षा गरिएको छ।
यस सडकको स्तरोन्नतिले कागेश्वरी मनोहरा र चाँगुनारायण क्षेत्रबीचको सडक सम्पर्क थप सहज बनाउने तथा स्थानीय व्यापार, व्यवसाय र आर्थिक गतिविधिलाई समेत गति दिने विश्वास गरिएको छ।