काठमाण्डौँ , कात्तिक ११ :

आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ ।

वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्‌घाटन गर्नुहुने कार्यक्रम रहेको छ । 

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजर बैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप- २९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो । 

आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउनका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

बिहान प्रधानमन्त्रीले उद्‌घाटन गर्नुहुने छ भने मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप- २९ का बारेमा प्रस्तुतीकरण गर्नुहुने छ । त्यसपछि जलवायु वित्त, हानि- नोक्सानी, पर्वतीय क्षेत्र, जलवायु लैङ्गिक मुद्दालगायत सात ओटा क्षेत्रगत विषयमा छलफल हुनेछ ।

उहाँले कोप- २९ मा लैजाने एजेन्डालाई अझै बढी प्रभावकारी बनाउन छलफल भएको सम्मेलनले सहयोग गर्ने बताउनुभएको छ ।